जसपामा दुईधारः ओलीलाई समर्थन गर्ने कि कांग्रेस-माओवादी केन्द्रलाई साथ दिने-Sutra News

जसपामा दुईधारः ओलीलाई समर्थन गर्ने कि कांग्रेस-माओवादी केन्द्रलाई साथ दिने

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं- सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि भावी सत्ता समीकरणमा जनता समाजवादी पार्टी (जसपा) पनि निर्णयक देखिएको छ । राष्ट्रिय जनता पार्टी र जनता समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो ।



दुवै पार्टीका १७/१७ सांसद थिए । तत्कालीन राजपा र समाजवादी पार्टीका एकएक सांसद निलम्बनमा परेकाले अहिले जसपामा ३२ सांसद छन् । जसपाभित्र दुईधार प्रष्ट देखिएको छ ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई प्रधानमन्त्री ओलीको पक्षमा देखिदैनन् । उनीहरू कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन लचिलो देखिएका छन् ।

जसपाकै अर्को धार अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो विशेषगरी प्रधानमन्त्री ओलीसँग नजिक देखिन्छन् । स्रोतका अनुसार, मंगलवार जसपाको यो समूहले यादव र भट्टराईलाई छलेर कार्यदल बनाएका हुन ।

जसपाका अध्यक्ष ठाकुरले पार्टीभित्रका अर्का धारका शीर्ष नेताहरूसँग यो बिषयमा छलफल नै गरेका थिएनन् । आइतबार ठाकुरले प्रधानमन्त्री ओलीसँग भेटेपछि कार्यदल बनाउने सहमति भएको स्रोतको दावी छ । यदि जसपाको ठाकुर पक्ष र एमालेबीच सहमति हुन सके ओली सरकारले निरन्तरता पाउने छ ।

एमालेले आफूसँग सत्ता सहकार्य गर्न जसपालाई फुस्ल्याउन सुरु गरेको छ । जस्तो कि एमाले र जसपाबीच मंगलवार संयुक्त कार्यदल समेत गठन गरेको छ ।

कार्यदलमा एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराई छन् । जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।

अहिलेको प्रतिनिधिसभाको गणित हेर्दा प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन थप १७ सांसद चाहिन्छ । जसपाको एउटा पक्ष र एकजना स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा पार्न सके ओलीको बहुमत पुग्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट