भोलि महाशिवरात्रीः यस्तो छ सवारी रुट-Sutra News

भोलि महाशिवरात्रीः यस्तो छ सवारी रुट

बुधबार, २६ फाल्गुन २०७७

बुधबार, २६ फाल्गुन २०७७

काठमाडौं- महाशिवरात्री, आराध्यदेव पशुपतिनाथको पूजा अर्चना गरी मनाइने पर्व हो । यस पर्वमा देश तथा विदेशबाट समेत लाखौका संख्यामा भक्तजनहरू पशुपतिनाथको दर्शन गर्न काठमाडौं आउँछन् ।



लाखौं भक्तजनहरू काठमाडौं आउने हुनाले पशुपतिनाथ आसपासका क्षेत्रहरूमा अत्यधिक चाप हुन्छ । यातायातका साधन सहज तरिकाले संचालन गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि बिहीबार महाशिवरात्रीको दिन यातायात रुटको विशेष योजना सार्वजनिक गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाले भोलि दिनभर चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय गरेको छ । दर्शनार्थीको चाप अत्यधिक भएमा भने गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको छ ।

मैतीदेवी मोडबाट पुरानो बानेश्वर, रातोपुल हुँदै गौशाला र चाबहिलतर्फ जाने यातायात सेवा निषेध गरिने छ । सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामपोखरी कुटुबहालबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि सावरीसाधन चलाउन निषेध गरिने महाशाखाले जनाएको छ ।

यसैगरी मालबाहक सवारीसाधन तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालबाहक सवारीसाधन गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकततर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारीसाधनलाई चुच्चेपाटीबाट चावहिलतर्फ निषेध गरिएको छ ।

स्वदेशी, विदेशी दर्शनार्थी तथा तीर्थयात्रीका लागि सिफलचौर र तिलगंगामा पार्किङको व्यवस्था मिलाइएको छ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्येश्वरीको पारीपट्टि पार्किङको व्यवस्था मिलाइएको छ ।

पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारीसाधन तथा सेवा प्रदायक संघ संस्थाहरूको सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

159622295_360827175015839_1523270923105732792_n.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट