काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताएका हुन् ।
हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उनले पृथकतावादी सोचलाई समेत टुंग्याइएको बताए । ‘हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।’
प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको स्पष्ट पारे । नेपाली सेनाको परिचालन र प्रयोग सही ढङ्गले हुँदै आएको बताउँदै उनले नेपाल विश्वमा शान्ति स्थापनाका पक्षमा रहेको स्पष्ट गरे ।
‘ठूलो होस् वा सानो देश, विश्वमा न्यायोचित हकको रक्षाका लागि मात्र सेना परिचालन गरिनुपर्छ’, प्रधानमन्त्री ओलीले भने । विश्वमा अर्काको अहित हुने गरी सेनाको परिचालन गर्न नहुनेमा उनले जोड दिए ।
असहज र अप्ठयारो अवस्थामा सेनाको प्रयोग गरिँदै आएको प्रसङ्ग जनाउँदै प्रधानमन्त्री ओलीले सुरक्षा, सेवा र निर्माणका काममा सेना अहोरात्र खटिँदै आएको स्मरण गरे ।
अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली सेनाले शान्ति स्थापनार्थ उल्लेखनीय योगदान दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भने, ‘सेनाले आफू जोखिम मोलेर भए पनि शान्ति स्थापनाका लागि काम गर्दै आएको छ ।’