काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको खेल फेल भएको बताएका छन् ।
‘जनताले स्थिर सरकार बनाएर पाँच वर्ष शासन गर भनेर म्याण्डेट दिएका थिए, तर ओलीले दुई तिहाइको आफ्नो सरकारलाई अल्पमतमा पुर्याएर ,’ अध्यक्ष केसीले भने,‘ओलीले देशको राजनीति फोहोर बनाए । त्यसैले उनको खेल फेल भयो ।’
सूत्रन्यूजका प्रतिनिधिसँग ठुटीपीपल, रुपन्देहीमा कुराकानी गर्दै केसीले उक्त कुरा बताएका हुन् । ‘आफैं मात्र सबैथोक हुँ अरू त कोही भन्ने घमण्डले गर्दा उनले आफैंले मिलाएको पार्टी नेकपालाई पहिलेकै स्थितिमा पुर्याएर एमाले र माओवादीमै रूपान्तरित गरे, के यो जनताको म्याण्डेट थियो त ?’ केसीले प्रश्न गरेका छन् ।
‘नेपालमा विदेशी शक्तिले स्थिर सरकार भत्काएर, सत्ताबाट लडाएर आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिको सरकार खोजिरहेका थिए, ओलीले त्यही पालना गर्न पदका लागि झगडा गरिरहे,’ केसीले भने, ‘संसद् त विघटन गरे नै हुदाँखाँदाको पार्टी नै छिन्न भिन्न पारेर जुन नौटंकी शैली अपनाए, यसले कुनै निकास दिनेवाला छैन ।’
केसीको सुझाव थियो, ‘पुनर्थापित एमाले र माओवादी केन्द्र मिलेर सरकार चलाउनुपर्छ ।’ तर के केसीले भनेजस्तो सत्ता समीकरण बन्ला ? मुश्किल छ, मुश्किल ।