मृगौला फेर्न विदेश जानु मेरो रहर होइन- प्रधानमन्त्री-Sutra News

मृगौला फेर्न विदेश जानु मेरो रहर होइन- प्रधानमन्त्री

बिहिबार, २७ फाल्गुन २०७७

बिहिबार, २७ फाल्गुन २०७७

काठमाडौं- विश्व मृगौला दिवसका अवसरमा काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थित भएका छन् । 



कार्यक्रममा बोल्दै ओलीले नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने जानकारी दिए । यसका लागि मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा. डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशील रहेको ओलीले बताए ।

‘मृगौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,’ दुईपटक मृगौला प्रत्यारोपण गराइसकेका प्रधानमन्त्रीले भने ।

मृगौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी रहेको उनले बताए । ओलीले थपे, ‘उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो । यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्छ ।’

पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गरे । ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उनले भने ।

‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’ को नारासहित आज नेपालसहित विश्वभर मृगौला दिवस मनाईदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट