काठमाडौं- नयाँ सत्ता गठबन्धनका लागि एमाले, माओवादी केन्द्र र कांग्रेसको तानातानमा परेको जनता समाजवादी पार्टी (जसपा) ले कस्तो राजनीतिक कदम चाल्ला ? अहिले धेरैको चासोको बिषय बनेको छ ।
जसपाले लिने निर्णयले सरकारको कस्तो रूपको बन्छ भन्ने तय गर्नेछ । यसैले जसपाको आजको बैठकले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ । जसपाका नेता केशव झाका अनुसार, आज जसपाले ठोस निर्णय गर्ने सम्भावना छ ।
सर्वोच्च अदालतको आदेशपछि नेकपाबाट एमाले र माओवादी केन्द्र पूरानै अवस्थमा फर्किएपछि प्रमुख राजनीतिक दलहरू अंकगणित खेलमा जुटेका छन् । यो खेलमा जसपा निर्णायक शक्तिका रूपमा आएको छ ।
जसपाका दुवै अध्यक्षहरू महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतोको बीचको छलफल कसरी जान्छ, त्यसले नेपाली राजनीतिको अगाडिको बाटो छर्लङ्ग पार्नेछ ।
जसपाका नेताहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग केही चरण भेटवार्ता गरिसकेका छन् ।
भेटको क्रममा जसपाका नेताहरुले रेशम चौधरीमाथिको मुद्दा फिर्ता लिनुपर्ने, संविधान संशोधन गर्नुपर्ने,मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिनुपर्ने कुरालाई प्राथमिकता दिदैं आएका छन् । यही मुद्दामा स्पष्ट हुन उनीहरूले कहिले एमाले त कहिले माओवादी केन्द्रसँग वार्ता गरिरहेका छन् ।
यही क्रममा आज साँझ जसपाका प्रमुख नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाँदैछन् । जसपाको आजै बसेको पदाधिकारी बैठकले अन्य राजनीतिक दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।
जसपाको कार्यकारिणी समितिको बैठक ५ चैतमा बस्दै छ ।