काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले एमाले सरकार बाँकी दुई वर्ष टिकाउन पहल गर्ने भएको छ । खनाल–नेपाल समूहको बिहीबारको बैठकले एमाले सरकार टिकाउन पहल गर्ने भएको हो ।
‘अहिले हाम्रै नेतृत्वमा सरकार छ । वामपन्थी नेतृत्वको सरकारकै निरन्तरताको पक्षमा छौँ । पार्टी अध्यक्ष र प्रधानमन्त्रीका हिसाबले ओलीले सबैसँग कुराकानी गर्नुपर्छ । बैठक बोलाउनुपर्छ,’ बैठकपछि एक नेताले भने, ‘हामी नवौं महाधिवेशनपछिको नीति, नेतृत्वअनुसार पार्टी चल्नुपर्छ भन्नेमा छौं । को–को थप्ने हो बैठक राखेर छलफल गरौं भन्ने नै हाम्रो निष्कर्ष हो ।’
त्यस्तै, खनाल–नेपाल निकट स्थायी कमिटी सदस्यहरूको छलफलले ओली पक्षबाट भइरहेको गतिविधिविरुद्ध आपत्ति जनाउँदै वक्तव्य नै जारी गर्ने निर्णय गरेको छ ।
‘सर्वोच्च अदालतको फैसला अनुसार एमाले पुर्नस्थापित भएको हो । तर, अहिले जस्तो गतिविधि भइरहेको छ, त्यसप्रति आपत्ति छ’, एक स्थायी कमिटी सदस्यले भने ।
‘अहिले कोही पहिलेबाटै एमाले भएको र कोही भर्खरै भएको जस्तो व्यवहार गरिँदैछ, यस्तो गतिविधि बन्द गरिनुपर्छ’, ती नेताले भने ।