काठमाडौं- ‘नयाँ साथी खोज्दा पुराना साथीहरू जसले हामीलाई यो ठाउँसम्म ल्याउन मुख्य योगदान गरेका हुन ती साथीहरु छुटेको पक्कै पनि हो । आफनै साथीहरू छुट्दा आफ्नै धरातल कमजोर देखिएको पक्का हो ।’
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जब आफू सत्ताबाहिर पुग्छन् र राजनीतिक रूपमा रक्षात्मक स्थितिमा आउँछन त्यतिबेला जनयुद्घमा होमिएका लडाकुहरूलाई सम्झिन थाल्छन् ।
बिहीबार काठमाडौंमा आयोजित माओवादीका पूर्वलडाकुहरू एक कार्यक्रममा प्रचण्डले एक प्रसङ्गमा भने, ‘नयाँ साथी बनाउ, तर पुरानोलाई पनि कायम राख । नयाँ भनेको चाँदी हो पुरानो सुन हो । पुरानो महत्वपूर्ण हुन्छ ।’
देशमा केही अवसर नपाएर खाडीमुलुक पुगेका जनमुक्ति सेनाका ती पूर्वलडाकुहरूलाई सम्झिएका प्रचण्डले भने, ‘अब पुराना साथीहरूलाई एकताबद्घ र विश्वास गर्ने हो । विगतमा हाम्रो ध्यान त्यता कम गएकै हो अब त्यसलाई सच्याउने हो ।’
उपयोगीताको राजनीतिमा पोख्त भनेर सधैं आलोचित प्रचण्डले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने, ‘हिजो साथ दिएका, दुःख पाएका साथीहरू ओझेलमा परेका हुन् । हामीले संस्थागत रूपले हाम्रा साथीहरूलाई समेट्न नसकेको साँचो कुरा हो ।’
प्रचण्डलाई अहिले आएर आफ्ना पूराना लडाकूहरूको सम्झनामात्र आएको छैन, उनले जनताको घर दैलो पनि सम्झिन थालेका छन् ।
आजको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले भने, ‘अब म काठमाडौंभन्दा अभियानमा बस्ने विचारमा छु । फेरि दुईचार वर्ष जनताको बीचमा जान्छु ।’
पुरा भिडियो हेर्नुस