संसदीय दलको नेता छान्दै जसपा-Sutra News

संसदीय दलको नेता छान्दै जसपा

शुक्रबार, २८ फाल्गुन २०७७

शुक्रबार, २८ फाल्गुन २०७७

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दै छ । बैठकमा संसदीय दलको विधान परिवर्तन गर्ने र दलको नेता छनोट गर्ने दुर्ई एजेन्डा छन् ।



पार्टीका सांसदहरूलाई विधान अध्ययन गर्न दिइएको छ । ‘उहाँहरूले अध्ययन गरेर आउनुहुन्छ, आजको बैठकमा विधान पारित गरिन्छ र सो पश्चात् संसदीय नेता छनोटको प्रक्रिया अगाडि बढनेछ,’ जसपाका एक नेताले भने । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी नेपाल (जसपा) बने पनि हालसम्म संसदीय दलको नेता चयन गरिएको थिएन ।

२०७७ वैशाख १० गते राजपा र समाजवादी पार्टीबीच एकतापछि जसपा नाम राखिएको थियो । त्यसपछि उपेन्द्र यादव र डा.बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले राजपासँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल नाम राखेका हुन् । तत्कालीन समयमा पार्टी विधान गर्न सजिलो हुने गरी सरकारले अध्यादेश ल्याएपछि हतारमा राजपा र समाजवादी पार्टीबीच एकीकरण भएको थियोे । चर्को आलेचनापछि उक्त अध्यादेश भने सरकारले फिर्ता लिएको थियो ।

संसदमा चौंथो ठूलो दल जसपा नेपालको संसदमा ३४ मध्ये ३२ सांसद् छन् । दुईजना निलम्बनमा परेका छन् । पार्टी एकीकरण हुनुअघि राजपामा महन्त ठाकुर र संघीय समाजवादी फोरममा उपेन्द्र यादव संसदीय दलका नेता थिए । डा.भट्टराईको नयाँ शक्ति पार्टीले फोरमसँग एकता गरेपछि भने समाजवादी पार्टी बनेको थियो ।

जसपाका शीर्ष नेताहरुले हिजो प्रधानमन्त्री केपी ओलीसँग वालुवाटारमा भेटवार्ता गरेका छन् । जेलमा रहेका सांसद् रेशम चौधरीलाई छोड्ने, बन्दी बनाइएका कार्यकर्ताहरुलाइ छोड्ने र मुद्दा फिर्ता लिने र संविधान संसोधन गर्ने लगाएतका एजेन्डा जसपाका छन् । सो भेटवार्तालाई निकै महत्वकासाथ हेरिएको छ र वार्ता सकारात्मक भएको भनिएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी ओलीको सरकारले बहुमत गुमाएको खण्डमा उसलाई सरकारमा टिकीराख्न अन्य कुनै दलको समर्थन आवश्यक पर्दछ ।

जसपाका एजेन्डा मान्न तयार भए प्रधानमन्त्रीलाई सहयोग गर्न सकिने जसपाका नेताहरुले भन्दै आइरहेका छन् । ओली सरकारमा जाने कि नजाने भन्नेमा पनि जसपाभित्र मतभेद छ । डा.भट्टराई ओली सरकारमा जान नहुने पक्षमा छन् । संसदमा नेकपा एमालेको १२१ सिट छ । बहुमत १३८ पुर्‍याउन जसपा सहयोगी बन्न सक्छ । तर जसपाका नेताहरूले आफ्ना माग पूरा हुनुपर्ने बताइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट