सत्ता समीकरणका विषयमा जसपाका नेताहरूले गरे देउवासँग छलफल-Sutra News

सत्ता समीकरणका विषयमा जसपाका नेताहरूले गरे देउवासँग छलफल

शुक्रबार, २८ फाल्गुन २०७७

शुक्रबार, २८ फाल्गुन २०७७

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच छलफल भएको छ । सत्ता साझेदार लगायत पछिल्लो राजनीतिक घटनाकाबारेमा जसपाका नेताहरुले सभापति देउवासँग छलफल गरेका हुन् ।



देउवा निवास बुढानिलकण्ठमा भएको छलफलबारे जसपाका अध्यक्ष महन्थ ठाकुरले भने, ‘मिलेर जाने र जेलमा रहेका हाम्रा साथीहरूलाई रिहा गर्ने विषयमा कुरा राख्यौं । तरपनि कुनै सहमति भएको छैन ।’

कांग्रस प्रवक्ता विश्वप्रकाश शर्माले समेत ठोस रूपमा टुंगोमा पुगिनसकेको बताए । उनले भने ,‘ठोस रुपमा टुंगोमा पुगेका छौं भन्ने बेला भएको छैन । जसपाका नेताहरुसँग राष्ट्रिय राजनीतिका बारेमा छलफल भयो ।’

अहिलेको अवस्थामा कांग्रेसले निकास दिनुपर्ने बेला आएको प्रवक्ता शर्माले बताए । छलफलका क्रममा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरेका दलहरुका बिचमा सहमति कायम गर्न जसपाका नेताहरुले आग्रह गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

उनले भने, ‘माओवादी र जसपा र कांग्रेस एकठाउँमा उभिनुपर्छ भन्ने कुरा उहाँहरुले गर्नुभयो । खुला रुपमा छलफल गरेर राजनीति अघि लैजाने विषयमा छलफल भएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारका बारेमा समेत छलफल भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि कांग्रेसको अग्रसरतामा संघर्ष भएको थियो । केहीदिन प्रतिक्षा गर्नुपर्छ । ’

जसपा नेताहरुसँगको छलफल अघि सभापति देउवाले पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक समेत बोलाएका थिए ।

पदाधिकारी बैठकबारे प्रवक्ता शर्माले भने,‘ पदाधिकारी बैठकमा पनि ओली सरकारको विकल्पमा अघि बढ्नुपर्छ र त्यसका लागि कांग्रेस अग्रसर बन्नुपर्छ भन्ने नै थियो । तर जसपाका नेताहरूसँगको छलफलमा समेत त्यही विषयमा छलफल भएको छ । थप परिपक्वता देखिएपछि कांग्रेसले निर्णय गर्छ । संसदमा रहेको माओवादी केन्द्रसँग फेरी छलफल गरेर निष्कर्ष निकाल्छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट