काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले चलेको लडाईं सबैको हक अधिकारसहित नयाँ राष्ट्रिय एकताका निम्ति भएको बताएका छन् ।
उनले भने, ‘सबै जाति, क्षेत्र, लिङ्ग र उत्पीडित क्षेत्रका जनताको हक अधिकार प्राप्त गरी नयाँ राष्ट्रिय एकता बनोस् भन्नका निम्ति लडेको लडाईं हो यो ।’
राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई विरोधीहरुले आरोप लगाउनु र गाली गर्नु सामान्य भएको बताउँदै आफूले जसका निम्ति संघर्ष गरेको हो त्यो वर्गले नै नचिन्दा चिन्ता लाग्ने बताए ।
उनले पछिल्लो पटक जनतासँग जोडिने अवसर पाएको बताउँदै जनताका निम्ति गरिने संघर्षलाई ठीक ढंगले जनताले बुझोस् भन्ने चाहना आफूलाई पनि हुने बताए ।
अध्यक्ष प्रचण्ड सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको जिकिर गरे । उनले यसअघि पनि पटकपटक आफूलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए ।
आफूलाई पटक-पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफूलाई जोगाएको बताउँदै उनले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताए ।
जनताको बिचार सहि भए सहि नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने उनको धारणा थियो ।