काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जसपाबारे जान्नै पर्ने कुरा भन्दै तीन बुँदा ट्वीट गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले शनिवार साँझ यी बुँदा ट्वीट गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको विकल्प खोजी जारी रहेको बेला बाबुरामले जसपालाई तासको जोक्कर नठान्न आग्रह गरेका छन् । उनले सत्तारुपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी जसपा नभएकोसमेत प्रस्ट्याएका छन् ।
त्यसैगरी बाबुरामले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरुद्ध कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
यद्यपि जसपा सत्ता निर्माणका लागि अहिले प्रधानमन्त्री ओलीदेखि कांग्रेस र माओवादी केन्द्रसँग छलफलमा जुटेको छ । सत्ता समीकरणका लागि बालुवाटारदेखि बुढानिलकण्ठसम्म धाए पनि बाबुरामले जसपा कसैको पुच्छर नभएको दाबी गरेका छन् ।
जसपाबारे जान्नैपर्ने कुरा:१.यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन;बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो!२.गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन;३.यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।
— Baburam Bhattarai (@brb1954) March 13, 2021