प्रदेश १ को संसद पुनः स्थगित, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको प्रक्रिया अन्योलमा-Sutra News

प्रदेश १ को संसद पुनः स्थगित, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको प्रक्रिया अन्योलमा

आइतबार, १ चैत्र २०७७

आइतबार, १ चैत्र २०७७

काठमाडौं- प्रदेश नम्बर १ को प्रदेशसभा स्थगित भएको छ । एकीकृत पार्टी नेकपा रहुन्जेल चरम विवादमा परेको प्रदेश १ को संसद अब एमाले पार्टी विवादको छायाँमा परेको छ । सभामुख प्रदीपकुमार भण्डारीले आइतबार सूचना निकालेर संसद् बैठक ‘अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने’ निर्णय गरेका हुन् ।



फागुन २० का लागि तय भएको प्रदेशसभा बैठक त्यति खेर बैठक नबसी सूचना टाँस गरेर चैत २ का लागि तोकिए पनि संसद सचिवालयले आज सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि बैटक स्थगन गरेको हो ।

यसअघि नेकपा पार्टी रहेको अवस्थामा मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रचण्ड माधव पक्षले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यतिखेर मुख्यमन्त्री राईले नै आफूविरूद्धको अविश्वास प्रस्ताव छल्न संसद अवरूद्ध गर्दै आएका थिए ।

नेकपा खारेजी भई नेकपा एमाले पुनः स्थापित भएपछि केपी ओली पक्ष र माधव-खनाल पक्षको विवादले प्रदेश सभा बैठक आइतबार नै सूचना टाँस गरेर स्थगित गरेको हो ।

प्रदेशसभामा गत माघ ७ मा हिउँदे अधिवेशन सुरु भए पनि प्रदेशसभा अहिलेसम्म पुरा समय चल्न पाएको छैन । पहिलो दिनमै बैठक बसेको तीन मिनेटपछि अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

तात्कालिन नेकपाका प्रचण्ड माधव समूहले मुख्यमन्त्री राईविरूद्ध दर्ता गराएको अविश्वास प्रस्ताव फागुन ९ मा मात्रै टेबल भएको थियो । त्यो बैठक मुख्यमन्त्री राई पक्षले बहिष्कार गरेको थियो ।

नेकपा भित्रको विवाद अदालतले राजनीतिक फैसलामार्फत् सल्टाए पनि एमालेभित्र केपी ओलीले माधव-खनाल पक्षका सबै पदाकिारीहरु हटाई माओवादी तर्फबाट आएकाहरुलाई मनोनित गरेपछि नेपाल पक्ष रुष्ट बन्दै प्रदेशसभा बैठक स्थगित गराएको हो ।

प्रदेश १ संसदमा मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्ताव दर्ता भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न सकेको छैन । ‘प्रदेशसभा बैठक नबसेसम्म उक्त स्ताव के हुन्छ भन्ने अन्योल कायमै छ,’ प्रदेशसभाका एक सदस्यले जानकारी दिए ।

तत्कालीन नेकपाका ३७ सांसदले हस्ताक्षर गरेको प्रस्तावबाट एमालेका ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् भने माओवादी संसदीय दलका नेता टंक आङ्बुहाङ ओली समूहमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट