काठमाडौं- माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठन नै अहिलेको प्रमुख राजनीतिक कार्य रहेको बताएका छन् ।
पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै श्रेष्ठले संविधानमाथि प्रतिगामी सांघातिक हमला भएकाले एमाले-माओवादी एकता कायम रहन नसकेको बताए ।
गत पुस ५ गते संविधानको मर्म विपरित प्रतिनिधिसभा विघटन गरियो नि यो प्रतिगामी हमला थियो । ‘हामीले पहिले त संविधानलाई लिकमा ल्याउने र सबै प्रतिगमनलाई सच्याउनुपर्छ भन्यौं र त्यसमा सफल भयौं र प्रतिनिधिसभा पुनर्थापना भयो, तर प्रतिनिधिसभा ब्युतिएँपनि प्रतिगमनको खतरा अन्त्य भइसकेको छैन र हाम्रो खबरदारी निरन्तर जारी छ भनेर हामीले त्यतिबेला पार्टीको वक्तव्य निकालेका थियौं ।’
एमाले र माओवादीलाई साबिककै अवस्थामा ब्युताउँने सर्वोच्चको फैसला योजनावद्ध र राजनीतिक रुपमा भएको आरोप उनले लगाए । ‘यो नित्तान्त राजनीतिक छ, अस्वाभाविक छ र कुनै षडयन्त्रको उपजमा आएको छ,’ उनले भने । ‘केपी ओलीको सरकारलाई ढालेर नयाँ सरकार बनाउनु अहिलेको मुख्य आवश्यकता हो । किनकि, केपी ओलीको सरकार गलत प्रक्रियामा चलिरहेको छ ।
त्यसैले अहिलेको पहिलो राजनीतिक कार्य यो सरकार विस्थापित गरेर नयाँ सरकार बनाउने होे । कांग्रेस, माओवादी र जसपा मिल्दा मात्रै केपी ओली सरकारलाई विस्थापित गर्न सकिने उनले बताए ।
‘जसपा भित्रको अन्तरविरोध जेसुकै भएपनि उसको कुनै पक्षलाई पनि आक्रमण गर्ने काम नगरौं । किनकी, जसपालाई कुनै न कुनै ढंगले ओली इतरको गठबन्धनमा ल्याउन प्रयत्न गरिरहेका छौं ।’