काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) सरकारमा जानका लागि विभिन्न राजनीतिक दलसँग वार्ता गरिरहेकोप्रति सोही पार्टीका केही सांसदले आपत्ति जनाएका छन् । नयाँ सत्ता समीकरणका लागि जसपाका शीर्ष नेताले नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेससँग गरिरहेको वार्ता अनुचित भएको सांसद् प्रमोद शाहको ठहर छ ।
नयाँ सरकारका लागि निर्णायक भूमिकामा रहेकाले पनि जसपा नेपाल सम्भावित दुवै समीकरणका लागि छलफलमा जुटेको हो । सत्ता समीकरणका छलफलल मधेशी जनतामा भ्रम सिर्जना भएको सांसद शाहको भनाइ छ ।
आफ्नो पार्टीको मुख्य मागको सम्बोधन हुने ग्यारेन्टी नभईकन सरकारमा जानु पार्टीकै लागि घातक हुनसक्ने बताउँदै सांसद शाहले आपत्ति जनाएका हुन् । उनले राजनीतिक निकासका लागि आफूहरुले पार्टीलाई दबाब दिने बताए ।
जसपाले सत्ता सहकार्यका लागि विभिन्न दलसँग वार्ता गरिरहेको बेला सोही पार्टीका केही सांसदले सरकारमा जन नहुने प्रतिक्रिया दिएका छन् ।
जसपा सरकारमा जाने तयारीमा भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै उनले वर्तमान परिस्थितमा पार्टीलाई सरकारमा जानबाट रोक्नका लागि आफूहरु छलफल गरिरहेको जानकारी दिए ।
उनले अहिले वैठक बसिरहेकाे बताए । ‘अहिले हामी १० जना सांसद बसिरहेका छौं, अरु पनि थपिनेवाला छन् । हाम्रो पक्षमा करिब १५ जना सांसद हुनुहुनेछ,’ उनले भने । उक्त बैठकमा सांसद प्रदीप यादवले आफू नजाने बताएका छन् । ‘कसैको डिजाइनमा त्यो बैठक हुन लागेको हो । त्यसमा म जाँदिनँ, मेरो सरोकारको विषय पनि होइन,’ उनले भने ।
बैठकमा हालसम्म सांसदहरु प्रमोद साह, दुलारी खत्वे, रानी मण्डल, अमृता अग्रहरि, निरमाया ढकाल, एकवाल मियाँ, रामबाबु यादव, उमाशंकर अरगरिया, रेणुका गुरुङ, उर्मिला यादव उपस्थित छन् ।