जनकपुरधाम- बीबीसी मास्टर सेफको उपविजेता बन्न सफल सिरहाका सन्तोष साहलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।
आफ्नो घर आउने क्रममा आइतबार जनकपुर विमानस्थलमा साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको हो ।
उनका बाल्यकालका साथीसमेत रहेका जनकपुरधाम उपमहानगरपालिका-३ का वडाध्यक्ष दीपेन्द्र साहको अगुवाइमा उनलाई सम्मान गरिएको हो ।
जनकपुरधामका युवाहरुले माला लगाएर सम्मान तथा स्वागत गरिरहँदा साहले ती मालाभित्र आफ्नी आमालाई समेत राखेका थिए ।
साहले देशको नाम चम्काएको खुसीमा युवाहरुले विमानस्थलमै केकसमेत काटेका थिए । साहलाई लिन उनकी आमासहित दाजु–भाउजू जनकपुरधाम विमानस्थल पुगेका थिए ।
सम्मान ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै साहले कुनै पनि काम सानो नहुने बताए । उनले खाना पकाउने काम पनि ठूलो काम भएको भन्दै यो कुराबारे नेपाल आएर सबैलाई बुझाउन थालेको उनले बताए ।