काठमाडौं- के अब केपी ओलीपछिको प्रधानमन्त्री शेरबहादुर देउवा हुन ? विविध सम्भावनाका माझ एउटा सम्भावना यो पनि हो । जसरी नेपाली राजनीति अहिले अघि बढिरहेको छ, त्यसले देउवाका लागि फेरि एकपटक प्रधानमन्त्री बन्न सक्ने संकेत गर्दै छ ।
आज (१ चैत) बाराको बेल्दारी गाउँ पुगेका कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले नै इसारा गर्दै भने, ‘देशमा संकट आएको बेला प्रधानमन्त्री बन्ने अवसर आए आफू पछि नहट्ने ।’
‘देशमा संकट आएको बेला कांग्रेसले सरकारको नेतृत्व गरेर निकास दिएको इतिहास छ,’ देउवा यति भनेर रोकिएनन्, पृष्ठभूमि पनि केलाउँदै भने, ‘अहिले पनि देश अप्ठ्यारोमा परेको छ, निकास दिन सरकारको नेतृत्व लिन म तयार छु ।’
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली सरकार जोगाउन सकिने सूत्र खोज्दैछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली हटाउने र नयाँ सरकार बनाउने कसरतमा कुदेका छन् ।
ठिक यही बेला लामो समयपछिको मौनता तोड्दै देउवा आज बोले । उनको आशय थियो, अबको प्रधानमन्त्रीमा मेरो पनि दावेदारी रहन्छ । सम्झिनुपर्ने के हो भने केही दिनअघिसम्म देउवाले ‘आफू प्रधानमन्त्रीको रेसमा नभएको’ बताइरहेका थिए ।
कतिसम्म भने, ‘प्रधानमन्त्री पदभन्दा पार्टीको आगामी महाधिवेशनबाट सभापतिमा फेरि निर्वाचित हुने’ बताइरहेका थिए, देउवा । कांग्रेसले ०७८ भदौ ७-१० का लागि पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । देउवामाथि चुनौती छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुले प्रधानमन्त्री पद स्वीकार गरिदिनुभन्दै बुढानिलकण्ठ चक्कर लगाइरँहदा पनि देउवाको न त सहमतिमा न त असहमतिकै टाउको हल्लाए ।
एकसाता अघि बुढानिलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा पनि देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका थिए ।
यो बेग्लै कुरा हो कि संसदीय शासन पद्घतीमा आस्था राख्ने कांग्रेस सभापति देउवा अहिले प्रमुख विपक्षी दलका नेता हुन् । यो भनेको ‘प्राइममिनिस्टर इन वेइटिङ’ पनि हो । देउवाले पछिल्लो समय सरकारको नेतृत्वका लागि आफू मरिमेटेर लागेको सन्देश नजाओस् भन्ने कुरामा निकै सजगता अपनाएका छन् ।
उनको आशय छ, ‘प्रधानमन्त्री पाऊँ भन्दै हिँड्दिन, पाएँ भने भाग्दिन ।’ किनकी देउवाका लागि अहिले सहज पनि छ, कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र इच्छुक छ । जनता समाजवादी पार्टीको बहुमत हिस्सा पनि ओलीलाई समर्थन गर्नुको साटो कांग्रेसलाई नै समर्थन गर्ने विषयमा बढी नजिक छ ।
तर डिल्लीबजार कारागारमा सजाय काटिरहेका रेशम चौधरीको रिहाई लगायतका केही शर्त पूरा गर्ने ग्यारेन्टी कांग्रेसले कसरी लिन सक्छ ? हलो अड्किएको यहीँ हो । ओलीले नभेटेको सूत्र यदि देउवाले भेट्न सके भने ? यदि यसो हुन सक्यो भने उनका लागि सिंहदरबार पुगेर प्रधानमन्त्रीको कुर्सीमा बस्ने दिन धेरै टाढा छैन ।