काठमाडौं- नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्व समाधानका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो हठ नत्याग्दा कुनै निर्णयमा नै नपुगेर वार्ता सकिएको हो । यद्यपी दुवै पक्षले आ-आफ्ना कुरा राखेका छन् ।
नेता भीम रावलका अनुसार आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर कहिले कसरी भन्ने निश्चित भएको छैन । नेता रावलले भने, ‘उहाँहरुले २८ गतेको निर्णय खारेज गर्नुभयो भने, भने हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौ नत्र जारी राख्छौ ।’
ओली पक्षलाई २८ गते गरेको निर्णय पार्टीको विधि, विधान र प्रणाली विपरित रहेकाले त्यो निर्णय फिर्ता लिन माधव पक्षले आग्रह गरेपनि उक्त निर्णय फिर्ता गर्न तयार नभएपछि फेरि वार्ता गर्दै जाने सहमति भएको रावलले जानकारी दिए ।
‘त्यो निर्णय पार्टी विधान र सर्वोच्चको फैसला अनुकुल पनि थिएन’आफुहरुले छलफलमा राखेको धारण सुनाउँदै रावलले भने, ‘एक अर्काका विचार आदान प्रदान गर्यौ । त्यसक्रममा हामीले एमालेको विधान, पद्दति र प्रणालीमा साझा रुपमा समस्या समाधान गर्न तयार छौ भनेर भनेका छौ ।’ उनले तर त्यसो नगरी आफुले गरेका कामचाहिँ गरिहाल्ने अनि अरु कुरा मानिदिनुपर्ने भन्ने आफुहरुलाई स्वीकार्य नभएको प्रतिक्रिया दिए ।
छलफलमा ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायत सहभागी थिए भने नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त, गोकर्ण विष्ट लगायत सहभागी थिए ।