ओली पक्षले माधव पक्षलाई भन्यो- चैत ४ र ५ गते बोलाइएको राष्ट्रिय भेला रोक्नुहोस्-Sutra News

ओली पक्षले माधव पक्षलाई भन्यो- चैत ४ र ५ गते बोलाइएको राष्ट्रिय भेला रोक्नुहोस्

सोमबार, २ चैत्र २०७७

सोमबार, २ चैत्र २०७७

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले नेता माधवकुमार नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेला नगर्न आग्रह गरेको छ ।



पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको दुई पक्षका नेताहरूको बैठकमा राष्ट्रिय भेला गर्दा झन् दूरी बढ्ने भएकोले त्यस्ता भेला नगर्न आग्रह गरिएको ओली पक्षका नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘आज खुलमखुला छलफल भयो । एमालेलाई सुदृढ बनाएर लैजानेबारे साझा अवधारणा बनेको छ । अन्तरविरोध छलफलबाट समाधान गर्दै जानुपर्छ,’ बैठकपछि पत्रकारहरूसँग ज्ञवालीले भने । बैठकमा नेता नेपाल पक्षले गत फागुन २८ मा ओली पक्षले गरेका निर्णय फिर्ता लिन माग गरेका थिए ।

‘२८ गतेको बैठकका निर्णय स्थगित गर्न उहाँहरूले आग्रह गर्नुभएको छ । तर त्यो निर्णय पुनरावलोकन र समीक्षा गर्नुपर्ने भए छलफल गर्दै जाऔं भन्ने हाम्रो भनाइ रह्यो,’ ज्ञवालीले भने । साथै राष्ट्रिय भेला अहिलेको अवस्थामा आयोजना गर्दा दूरी झन् बढ्ने भएकोले भेला नगर्न भनिएको पनि उनले बताए ।

‘यस्ता भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन । भेला नगरौं यसले दूरी बढाउँछ भनिएको छ,’ उनले भने । आज छलफल सकारात्मक भएकोले अब नेताहरूबीचमा अनौपचारिक छलफल पनि जारी रहने ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट