काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले फागुन २८ गते गरेका सम्पूर्ण निर्णयहरू खारेज गरेमात्र पार्टी अगाडि बढ्ने बताएका छन् । आज पार्टी कार्यालय धुम्बारहीमा भएको माधव नेपाल र केपी ओली पक्षबीचको वार्ता सकिए लगत्तै संचारकर्मीहरूको जिज्ञासामा उनले यसो भनेका हुन् ।
‘हाम्रो पार्टीको केन्द्रीय कार्यालयमा दुई घण्टाभन्दा बढी पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने सम्बन्धमा छलफल तथा कुराकानी भए,’ रावलले भने, ‘सर्वोच्चको फैसला बमोजिम स्वभाविक रूपमा तीन वर्षअघि हामी जस्तो अवस्थामा थियौं, त्यही अवस्थामा रहनुपर्छ भन्ने हाम्रो धारणा स्पष्ट पायौं । उहाँहरूले पनि कसरी एकतावद्ध गर्ने भन्ने नै राख्नुभयो ।’
‘२८ गतेको निर्णय त्यो केन्द्रीय कार्यालयबाट निर्णय गरियो भनिएको छ, जहाँ बहुमत केन्द्रीय सदस्यहरू छैनन् भन्ने पनि छ । हामीले तथ्यगत कुराहरू राख्यौ । तर वहाँहरूबाट ती कुराहरू सुन्ने काम भएन । सुन्ने काम नभएपछि हामी सहमत हुने कुरै भएन, रावलको भनाइ थियो ।
‘विचार आदानप्रदान त गर्यौं । तर कुनै ठोस निर्णय निस्केन । कहिले निस्कन्छ थाहा छैन । हामी पार्टीको विधान प्रणाली अनुरुप भएका कामहरुमा प्रतिवद्ध भएर जान तयार छौं । हाम्रा देशभरिका कार्यकर्ताहरुलाई पनि तदनुरुप अघि बढ्न निर्देशन दिएका छौं,’ रावल भन्दै थिए,‘तर त्यसो नगरेर आफुले गरेका कामलाई चाहिँ गरिहाल्ने सबै केन्द्रीय सदस्यहरुको मत र विधानअनुरुप नभएपनि हुने अनि अरु कुरा चाहिँ हामीले मानिदिनुपर्ने रु हाम्रो तर्फबाट स्वीकार्य हुँदैन ।’
‘हाम्रा कुराहरु सुन्नै नचाहेको र कारबाही गरेर अघि बढ्छु भनेको अवस्थामा राजनीतिक रूपमा आज छलफल भो त्यो राम्रो पक्ष हो । यत्रो मतभिन्नताहरू एकैपटकको वार्ताबाट आजै कसरी समाधान हुन सक्छ र ? समाधानका लागि हामी साझा रूपमा अगाडि बढ्न तयार छौं । एकचोटि बस्दैमा सबै ठिकठाक हुन्छ भन्न पनि हामी सोच्दैनौं,’ रावलले भने, ‘तर पार्टी विधान बमोजिम चल्नुपर्छ । २८ गतेका सबै निर्णयहरु स्थगित हुनुपर्छ । यसो गरियो भने हामीले बोलाएको चैत ४ र ५ गतेको कार्यकर्ता भेला पनि स्थगित हुन्छ ।’