ओली समूहसँगको वार्तापछि माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै बैठक-Sutra News

ओली समूहसँगको वार्तापछि माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै बैठक

सोमबार, २ चैत्र २०७७

सोमबार, २ चैत्र २०७७

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।



सोमबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन बैठक आफू पक्षका केन्द्रीय सदस्य तथा सासंदहरू बोलाइएको एक नेताले जानकारी दिए ।

आजै भएको छलफलमा दुवै पक्षले आ–आफनो अडान राखेपछि छलफल निष्कर्षविहीन भएको थियो ।

छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङसहितका नेताहरू सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी थिए ।

ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने चैत ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमालेका नेताहरुबीच टकराव अवस्था छ । ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरूको बैठक बसेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्नुका साथै महासचिव बाहेकका सबै पदाधिकारी खारेज गर्ने निर्णयपछि विवाद झन् चर्किएको छ । नेपाल समूहले आइतबार निर्वाचन आयोग पुगेर ओलीको निर्णय आधिकारिक नभएको भन्दै पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट