काठमाडौं- सर्वोच्च अदालतले विघटन बदर गरेपछि सुरु भएको प्रतिनिधिसभाको बैठक पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्नमै सीमित हुन थालेको छ ।
फागुन २३ र २६ मा बसेको दुई बैठकमा संसदमा कुनै पनि राजनैतिक एजेन्डामा छलफल हुन सकेको छैन । फागुन २३ मा विवादित संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश पेस भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।
दोस्रो बैठक १४ जना पूर्वसांसद र प्रतिनिधिसभा सदस्यको निधनमा शोक प्रस्ताव गरेर टुंगिएको थियो । आज बस्ने तेस्रो बैठकमा पनि संविधानसभा सदस्यको शोक प्रस्ताव पारित र बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
संसद् सचिवालयले मंगलबारको बैठकमा अध्यादेश पेस गर्ने, नेताहरुको संसदमा सम्बोधन गर्नेलगायत विषयमा छलफल गर्न सोमबार कार्य व्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । तर बैठकमा अध्यादेश पेस गर्न दलहरुबीच सहमति जुटेन ।
सरकारले गरेको विघटन अदालतले बदर गरे पनि संघीय संसद् सचिवालयले बैठक राख्न आनाकानी गरिरहेको छ ।