काठमाडौं- खुला सीमा नाकाका कारण नेपालमा भित्रिने मोबाइल फोनमा बन्देज लगाइने भएको छ । मोबाइल व्यवसायीको गुनासो सम्बोधनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको अवैध आयात बन्द गर्ने तयारी गरेको हो ।
नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको व्यवसायीहरुको दावी छ । अवैध मोबाइलको कारोबारका कारण व्यवसाय संकटमा परेको नेपाल मोबाइल फोन आपूर्ति संघले पनि बताउँदै आएको छ ।
गत चैतदेखि असारसम्म नेपालमा भएको बन्दाबन्दीपछि मोबाइल फोनको आयात ह्वात्तै बढ्यो । कोरोनापछि कामहरू अनलाइनमार्फत हुन थालेकाले माग बढे पनि व्यवसायीले अवैध आयात रोकिएकाले पनि आयात बढेको देखिएको बताउँदै आएका थिए ।
हालसम्म आधिकारिक दर्ता नभएका मोबाइल फोन बन्द गर्ने कुनै पनि प्रविधि छैन । तर एमडीएमएसले नेपालमा भएका मोबाइल फोनलाई सेतोसूची, खैरोसूची र कालोसूचीमा राख्छ ।
सेतोसूचीमा आधिकारिक, खैरोसूचीका मोबाइल फोन हराएका वा चोरी भएका हुने र कालोसूचीमा अनधिकृत फोन हुने प्राधिकरणले जनाएको छ ।
कालोसूचीमा भएका मोबाइल फोन बन्द गरिने भएकाले आधिकारिक कम्पनीबाट आयात भएका मोबाइल फोन मात्र नेपालमा चल्ने प्राधिकरणले स्पष्ट पारेको छ । समाचार आर्थिक अभियान दैनिकमा छ ।