पोखरा- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीतिक निकासका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नु पर्ने बताएका छन् ।
मंगलबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै वरिष्ठ नेता पौडेलले माओवादी र जसपालाई साथमा लिएर कांग्रेसले सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताएका हुन् ।
वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवाको मौनता रहस्यमय भएको समेत टिप्पणी गरेका छन् । नेता पौडेलले मुलुक चरम संकटमा पर्दा पनि पार्टी सभापति शेरबहादुर देउवाको उदासिनता र रहस्यमय मौनताप्रति आफूलाई आशंका लागेको बताए ।
सभापति देउवाको मौनताले नै मुलुक अनिर्णयको बन्दी बनेको उनको आरोप छ । उनले अहिलेको अवस्थामा कांग्रेस नेतृत्व अनिर्णित र ढुलमुले अवस्थामा रहन नहुने समेत बताए ।
‘मुलुक गम्भिर राजनैतिक अवस्थामा रहेको बेला कांग्रेस नेतृत्व अनिर्णीत र ढुलमुले अवस्थामा रहनु हुँदैन’ उनले भने । ‘अब कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गर्दै समस्याको निकास दिनुपर्छ ।’
वरिष्ठ नेता पौडेलले अधिनायकवादी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट निकालेपछि मात्रै मुलुकले निकास नपाउने बताए । उनले प्रधानमन्त्री ओलीलाई हटाउनु नै अहिलेको उत्तम विकल्प भएको बताउदै कुर्चीबाट हटाएपछि मात्र मुलुकले सही दिशा लिने स्पष्ट पारे ।