काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन सरकारले दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी गरेको बताएका छन् ।
सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज आयोजित सूचना प्रविधि क्षेत्रका विज्ञसँगको अन्तरक्रियामा उनले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधि क्षेत्रको विकास गर्न उक्त कम्पनी छिट्टै स्थापना गर्ने तयारी गरेको बताए ।
‘सूचनाप्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने सरकारले योजना बनाएको छ’, मन्त्री गुरुङले भने, ‘त्यसका लागि सुुझाव दिन म सरोकारवाला सबैलाई आग्रह गर्दछुु ।’
मन्त्री गुरुङले सरकारले अघि बढाएको ‘डिजिटल नेपालफ्रेमवर्क’ कार्यक्रमलाई प्रभावकारी बनाउने काममा सहकार्य गरेर अघि बढन निजी क्षेत्रलाई आह्वानसमेत गरे ।
उनले नागरिक एपलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सचेत पनि गराए ।