भारतमाथि इंग्ल्याण्डको सहज जित, बटलरको विस्फोटक ब्याटिङ-Sutra News

भारतमाथि इंग्ल्याण्डको सहज जित, बटलरको विस्फोटक ब्याटिङ

बुधबार, ४ चैत्र २०७७

बुधबार, ४ चैत्र २०७७

काठमाडौं- भारतविरुद्धको टी-२० सिरिजमा इंग्ल्याण्डले २-१ को अग्रता बनाएको छ । मंगलबार राति नरेन्द्र मोदी स्टेडियममा सम्पन्न तेस्रो खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिजमा बलियो पकड बनाएको हो । 



भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्याण्डले १८.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्याण्डका लागि जोस बटलरले आक्रामक ब्याटिङ गरे ।

उनले अविजित रहँदै ५२ बलमा ८३ रन बनाए । यसक्रममा उनले चार छक्का र पाँच चौका प्रहार गरे । यस्तै जोनी बेयरोस्टो ४० रनमा अविजित रहे । भारतका युजवेन्द्र चहल र वाशिङ्टन सुन्दरले एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन जोडेको थियो ।

उसका लागि कप्तान विराट कोहलीले अविजित ७७ रन बनाए । रिसव पन्तले २५ रन बनाए । इंग्ल्याण्डका मार्क वुडले तीन र क्रिस जोर्डनले दुई विकेट लिए । 

भारतको सुरुवात खराब रह्यो । ओपनर केएल राहुल खाता नखोली तेस्रो ओभरमा वुडबाट बोल्ड भए । पाँचौ ओभरमा १५ रन बनाएका रोहित शर्मालाई वुडले क्याच आउट गराए । त्यसपछि, इशान किशन पनि चार रन बनाएर आउट भए ।

पाँच खेलको सिरिजमा पहिलो खेल इंग्ल्याण्डले ८ विकेटले जितेको थियो भने दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । सिरिजअन्तर्गत चौथो खेल बिहीबार हुनेछ । बिहीबारको खेल जिते इंग्ल्याण्डले सिरिज आफ्नो पक्षमा पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट