काठमाडौं- नेकपा एमालेकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले २८ गतेको निर्णय फिर्ता गरेर भेलामा सहभागी हुन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।
बुधबार एमालेको खनाल-नेपाल समूहले सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले उनले एमालेको ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले गरेको पदाधिकारी खारेज गर्ने, केन्द्रीय सदस्य थप गर्ने, महाधिवेशनको मिति घोषणा गर्ने लगायतका निर्णय फिर्ता लिन आग्रह गरेकी हुन् ।
‘ओलीलाई म अनुरोध गर्न चाहन्छु- तपाईंले २८ गते जुन भेला गरेर हामी सबै पदाधिकारीलाई हटाउने काम गर्नुभयो । के त्यो विधानसम्बत् त हो ? त्यो निर्णयलाई फिर्ता लिएर यो भेलामा आइदिनुस्’, शाक्यले भनिन् ।
उनले ओलीले भेलामा आउनेलाई धम्की दिएको भन्दै त्यस्तो धम्कीबाट नडराउन आग्रह गरिन् ।
‘हामीले भेला गर्दा बालुवाटार बस्ने ओलीलाई पीडा भएछ । त्यसपछि सबैलाई कारबाही गर्छौ भन्नुभएछ । त्यति मात्रै नपुगेर विज्ञप्ति पनि जारी भएछ,’ शाक्यले भनिन्, ‘म सबैलाई भन्न चाहन्छु । पार्टीले आयोजना गरेको भेलामा आउन कोही डराउनु पर्दैन । यो कुनै गुटको भेला होइन एमालेको भेला हो ।’