सत्ता समीकरणका विषयमा जसपाभित्र फरक-फरक मत, केन्द्रीय कार्यकारिणी समिति बैठक भोलि-Sutra News

सत्ता समीकरणका विषयमा जसपाभित्र फरक-फरक मत, केन्द्रीय कार्यकारिणी समिति बैठक भोलि

बुधबार, ४ चैत्र २०७७

बुधबार, ४ चैत्र २०७७

काठमाडौं- सत्ता समीकरणको अंकगणितमा निर्णायक मानिएको जनता समाजवादी पार्टी, नेपाल (जसपा) सकभर आफ्नै नेतृत्वमा सरकार गठनकोे रणनीतिमा छ ।



जसपाले सत्ता समीकरणको बारेमा निर्णय लिन यहीे चैत ५ गतेदेखि कार्यकारिणी समितिको बैठक बोलाएको छ । उक्त बैठकलाई उत्सुकतापूर्वक हेरिएको छ ।

सो बैठकले के निर्णय गर्छ भन्नेमा माओवादी केन्द्र र एमालेका साथै कांग्रेसले पनि नियाली रहेकोे छ । कार्यकारिणी समितिका सदस्य शरदसिंह भण्डारीले माओवादी केन्द्र, कांग्रेस र एमालेसँग कसरी र कस्तो सहकार्य गर्ने बारेमा बैठकमा छलफल हुने बताए ।

‘पटक-पटक अरूलाई समर्थन गरियो । यसपटक जसपाले कांग्रेस, माओवादी केन्द्र र एमालेलाई मात्र समर्थन गर्ने कुरा नआउन सक्छ,’ भण्डारीले भने, ‘जसपा नेपालले नै सरकारको नेतृत्व गर्ने विषयमा पनि छलफल हुन्छ । परिस्थिति बदलिएको छ । अहिले माओवादी र एमाले दुई दललाई जसपा चाहिन्छ, यस पटकको समर्थन जसपालाई गर्नुपर्छ भन्ने लाइनबाट पनि छलफल हुन्छ ।’

संविधान संशोधन, रेशम चौधरी लगायतका नेताहको रिहाइ, झुटा मुद्दा फिर्ता, घाइतेको उपचार खर्च लगायतका माग जसले पूरा गर्छ उसैलाई समर्थन गर्ने तयारीमा जसपा छ । कागजी सम्झौताको आधारमा मात्र जसपाले कुनै नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने उनले बताए ।

एमालेलाई समर्थन गर्ने कि माओवादी वा कांग्रेसलाई समर्थन गर्ने अथवा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भन्ने विषयमा पार्टीभित्र फरक-फरक धारणा रहेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै आएका छन् भने पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरू भने ओलीतिर ढल्किएका छन् ।

त्यस्तै, शरदसिंह भण्डारी, राजकिशोर यादव, प्रदीप यादवलगायतका भने जसपा नेपालकै नेतृत्वमा सरकार बन्नुपर्ने कुरा उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट