काठमाडौं- माइत वा ससुराली जानु कुनै नयाँ कुरा होइन । तर कुन साधनको प्रयोग गरेर दुलही फर्काउन दुलाहा ससुराली जान्छन् भन्ने महत्वपूर्ण कुरा हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हालैमात्र पत्नी जाङ्मु इन शेर्पासँग ससुराली घर जादा सामाजिक सञ्जालमा आलोचनाको पात्र बने । उनले हेलिकप्टरमार्फत श्रीमती र परिवारलाई ससुराली लगेका थिए ।
शेरधन पत्नी जाङ्मु आफैंले माइती गाउँ गएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । तस्वीर सार्वजनिक भएपछि केहीले सरकारी पैसाको दुरुपयोग गर्दै हेलिकोप्टरमा ससुराली गएको आरोपसमेत लगाएका थिए ।
त्यो आरोपको प्रतिउत्तर दिँदै मुख्यमन्त्री पत्नी जाङ्मुले फेसबुकमा स्टाटस लेख्दै आक्रोश व्यक्त गरेकी छन् ।
‘यो त अति नै भो ! झुटको खेतीमा रमाउने, सत्यको खोजी नगर्ने, अनि हावामा सबै दौडने ! हो म मेरो श्रीमान माननीय मुख्यमन्त्री सहित हामी (मेरो परिवार सहित एक महिना अघि फागुन १३ गते)मेरो माइती गाउँ गएको साँचो हो । मेरो श्रीमान पार्टीको औपचारिक कार्यक्रममा भाग लिन जानु भएको हो । तर अरुले भने जस्तो चारवटा हेलिकप्टर लिएर सरकारी पैसा दुरुपयोग गरेर होइन । मेरो परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नो गाउँ जानु भयो तपाईको टाउको दुखाई किन ?’ उनले लेखेकी छन् ।
केही महिना अघि मात्र मोडल जाङ्मु र मुख्यमन्त्री राईबीच प्रेम विवाह भएको थियो ।