विराटनगर- नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरको संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ ।
संविधासभा सदस्यसमेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको हो ।
कांग्रेस मोरङका सचिव नागेश कोइरालाकाअनुसार नेता कोइरालामा मुटु रोगको समस्या थियो ।
निमोनिया पनि भएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति न्यूरो अस्पतालमा भर्ना गरिएका कोइरालाको बुधबार राति करिब १ बजे मृत्यु भएको हो ।
कोइराला परिवारका सदस्य अशोक कांग्रेसका पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन् ।
बुवा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौ सन्तानका रुपमा उनको विराटनगरमा नै जन्म भएको थियो । नेता कोइराला २०४४ सालमा नेपाली कांग्रेस मोरङको सभापति बनेका थिए ।
लामो समय राजनीतिमा सक्रिय रहेका कोइराला केही वर्षयता स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा थिएनन् ।