काठमाडौं- नेकपा एमालेको संसदीय दल बैठकले एमालेको संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।
बैठकले २७ जना सांसद रहने गरी संसदीय बोर्डसमेत गठन गरेको छ । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको हो ।
विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेका छन् ।
संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल पक्षका सांसदहरु गोपाल बम, समिना हुसेन, नन्दा चपाईलगायत सहभागी छन् । गंगा चौधरी र कलिला खातुन पनि सहभागी भएका थिए ।