काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने प्रस्स्ताव कसैले पनि नल्याएको बताएका छन् ।
बिहीबार बसेको शीर्ष नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले आफूहरू ओलीसँग संसद विघटनको विपक्षमा रहेका शक्तिहरू मिलेर अगाडि बढ्ने बताएका हुन् ।
उनले संसद विघटन गर्ने ओलीको कदम प्रतिगामी भनेर भनिसकेका कारण उनीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताएका हुन् ।
‘ओलीसँग सहकार्य गर्नुपर्छ भनेर कसैले ल्याउनुभएको छैन’, अध्यक्ष यादवले भने, ‘हामी प्रतिगमनकारी शक्तिविरुद्ध उभिन्छौं, उनीसँग लगनगाँठो कस्न सक्दैनौं ।’
ओलीसँगको सहकार्य गर्नु भनेको मधेस र मधेस आन्दोलनप्रति धोका दिनु र संघीयता र गणतन्त्र समाप्त पार्नु भएको उनको भनाइ थियो ।
सत्ता समीकरणका लागि निर्णायक मानिएको राजपाको आज बस्ने भनिएको केन्द्रीय कार्यकारिणीको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको छ ।