बालुवाटार बैठकले सोध्यो माधव नेपालसहित चार नेतासँग स्पष्टीकरण-Sutra News

बालुवाटार बैठकले सोध्यो माधव नेपालसहित चार नेतासँग स्पष्टीकरण

शनिबार, ७ चैत्र २०७७

शनिबार, ७ चैत्र २०७७

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘केन्द्रीय कमिटी’ बैठकले माधव नेपालसहित चार नेतासँग स्पष्टीकरण सोधेको छ ।



वरिष्ठ नेता नेपाल समूहको बहिस्कारका बीच शनिबार बसेको बैठकले नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलामा नेपालसहित चार नेता मुख्य जिम्मेवार रहेको बैठकको ठहर छ । भेला नगर्न निर्देशन गर्दागर्दै नेकपा एमालेको ब्यानरमा भेला गर्नु अनुशासनको उल्लंघन भएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

चार नेताले दिने जवाफका आधारमा अरु प्रक्रिया अगाडि बढ्ने भन्दै ज्ञवालीले भने, ‘फागुन २३ अगाडिका गतिविधिलाई एक ढंगले हेर्न सकिएला, तर त्यसपछि पनि लगातार गुटबन्दी गरिरहनु कदापि क्षम्य मान्न सकिँदैन ।’

बाँकी नेताहरू भने गम्भीर आत्मसमीक्षाका साथ पार्टीमा फर्किने विश्वास राखेको उनले बताए । पार्टीको नाममा समानान्तर गतिविधि भए विधान आकर्षित हुने ज्ञवालीले चेतावनी दिए ।

बालुवाटार स्रोतका अनुसार नेतृ रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोध्ने भनिए पनि उनीमाथि स्पष्टीकरण नसोध्ने भएको छ । केन्द्रीय सदस्यहरूले झाँक्रीसँगै अष्टलक्ष्मी शाक्यलाई पनि कारबाही गर्नुपर्ने माग गरेका थिए । तर, ‘वजन’ नपुगेको भन्दै अध्यक्ष ओलीले शाक्य र झाँकीलाई स्पष्टीकरण नसोध्ने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट