टीकापुर- कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ ।
होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने बताए ।
‘संस्कृति हाम्रो पहिचान हो, संस्कृतिले सभ्यता सिकाउने भएकाले कला र संस्कृति संरक्षणका लागि सांस्कृतिक समाजको सक्रियता आवश्यक छ’, नगरप्रमुख रावलले भने, ‘होलीलगायत यस क्षेत्रमा रहेका संस्कृति जोगाउन नगरपालिकाले सक्दो सहयोग गर्नेछ । संस्कृति नयाँपुस्तामा हस्तान्तरण गर्ने विषयमा सबैले सचेत हुनुपर्ने आवश्यकता छ ।’
होली देउडा अष्टमीदेखि शुरु गरिए पनि राति भने पूर्णिमाको केही दिन अगाडिदेखि मात्र खेलिने भएकाले त्यसको व्यवस्थापन गरिने प्रमुख रावलले बताए ।
‘रातिको समयमा होली देउडा खेल्न सुरक्षाका हिसाबले चुनौती छ’, उनले भने, ‘त्यसलाई व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।’
छलफलमा वडा नं १ का वडाध्यक्ष गङ्गाराम आचार्यले होली एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा आफ्नो सहयोग रहने बताए ।
देउडाप्रेमीले होली देउडा खेल्ने समय दिउँसो बढाएर रातिको समय छोट्याउनुपर्ने सुझाव दिएका छन् ।
टीकापुरमा आयोजना हुने होली देउडा हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला र प्रदेश नं ५ का बर्दिया, बाँकेका नागरिक पनि हेर्न आउने गर्छन् ।
सांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडाको अभ्यास गराइरहेको छ ।