काठमाडौं- नेकपा माओवादी केन्द्रको भातृ संठन वाइसिइल नेपालले यही चैत महिनाभित्रै सदस्यता नवीकरण गर्ने भएको छ ।
प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारका दरले एक लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाकाअनुसार संगठनको राष्ट्रिय भेला आगामी जेठ २८–३० गते काठमाडौंमा आयोजना गरिनेछ ।
इकाईदेखि स्थानीय तह हुँदै जिल्ला भेला आगामी वैशाखभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला आगामी जेठको २० गतेभित्र सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष सापकोटाको भनाइ छ ।
वाइसिएलले मातृ पार्टी माओवादी केन्द्र र एमालेबीच एकता सम्पन्न भई बनेको नेकपाको एकता भंग गराएको भन्दै एकताविरोधी गैरकम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए ।
वाइसिएलले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समितिको सङ्ख्या १ सय ६१ सदस्य हुने तय गरेको महासचिव सुवोधराज शेर्पालीले जानकारी दिए ।