बंगलादेश भ्रमणमा रहेकी राष्ट्रपति आज स्वदेश फर्किदै-Sutra News

बंगलादेश भ्रमणमा रहेकी राष्ट्रपति आज स्वदेश फर्किदै

मंगलबार, १० चैत्र २०७७

मंगलबार, १० चैत्र २०७७

काठमाडौं- बंगलादेशको दुइईदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै छिन् ।



नेपालबाट गएको ४५ सदस्यीय टोलीसहित राष्ट्रपति भण्डारी आज दिउँसो त्रिभुवन विमानस्थल अवतरण गर्ने राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ ।

‘राष्ट्रपतिज्यू आज ढाकास्थित नेपाली दूतावासमा आयोजना गरिने भोजमा सहभागी हुने र दिउँसो नेपाल फर्किने कार्यक्रम छ,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गएराति दुईपक्षीय भेटवार्ता सम्पन्न भएको थियो ।

बंगलादेशको राष्ट्रपति निवास बंगबधा भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानेटरी क्षेत्र र ट्रान्जिटका विषयमा समझदारीपत्र आदानप्रदान भएको थियो ।

बंगलादेशको रोहनपुरदेखि भारत पश्चिम बंगालको सिंहबादसम्मका लागि थप रेल रुट र तेस्रो मुलुकसँग व्यापार गर्नका लागि ‘को–ट्रान्जिट रुट’ मा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जसमा नेपाल र बंगलादेशबीच ट्रान्जिट सम्झौतालाई संशोधन गरिएको छ । अहिले नेपालले बंगलादेशबाट चटगाउँ र मंगला बन्दरगाह प्रयोग गर्छ । चटगाउँको बन्दरगाहमा धेरै भीड हुन्छ । जसले गर्दा त्यहाँ सामान राख्नका लागि नेपाली व्यापारीलाई गाह्रो भइरहेको छ ।

करिब ६० किलोमिटर वर रोहनपुरलाई सामानहरू स्टोरेज गर्ने स्थान अर्थात् सुक्खा बन्दरगाहका रूपमा विकास गरेको छ । अब नेपालले उक्त स्थानको प्रयोग गर्न पाउने छ ।

योभन्दा अगाडि बंगलादेशले त्यो सुविधा उपलब्ध गराएको थिएन । रोहनपुरमा भारत र बंगलादेशबीचको रेलमार्ग सञ्जाल छ । रोहनपुरदेखि पश्चिम बंगालको सिंहबादसम्म करिब २ सय ५५ किलोमिटर रेलमार्ग छ । त्यसलाई ट्रान्जिट रुटका रूपमा नेपालले विकास गर्ने विषयमा समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुगेकी थिइन् ।

राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेसनल परेड स्क्वायर’ मा आयोजित ‘नेपाल-बंगलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन् ।

यसअघि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी थिइन् । यससँगै ढाकास्थित नेपाली दूतावासमा आयोजना गरिएको भोजमा सहभागी भई राष्ट्रपति ४५ सदस्यीय टोलीसहित नेपाल फर्किने कार्यक्रम तय भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट