बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीमा तनावग्रस्त, प्रहरीको गोली लागेर दुईजना घाइते-Sutra News

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीमा तनावग्रस्त, प्रहरीको गोली लागेर दुईजना घाइते

मंगलबार, १० चैत्र २०७७

मंगलबार, १० चैत्र २०७७

कैलाली- बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् ।



प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनकाअनुसार गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्नाका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् । प्रदर्शनकारीलाई तितर बितर बनाउन हवाई फायरसमेत गरिएको थियो ।

ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका-१ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट