काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिने बताएका छन् ।
मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित आफ्नो समूहनिकट अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली ओलीको स्पष्टीकरणको सामना गरेर अगाडि बढ्ने बताएका हुन् ।
‘हामी घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो’, कार्यकर्तालाई प्रश्न गर्दै उनले भने, ‘यो किमार्थ मन्जुर छैन । ‘केपी ओलीको कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौँ, आतंकित भएका छैनौँ । सामना गर्न तयार छौं ।’
शनिबार नेपाल-खनाल पक्षको अनुपस्थितिमा बसेको एमाले केन्द्रीय समिति बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोमबार चारै नेतालाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएको थियो ।