काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठक आगामी चैत २० गते बस्नेछ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन् ।
सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय समिति बोलाउने सहमति भएको थियो । त्यही सहमतिअनुसार बैठक डाकिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
बैठकमा महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए ।
पार्टीको महाधिवेशन आगामी भदौमा गर्ने निर्णय भए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको विवाद टुंगिएको छैन । क्रियाशील सदस्यता वितरण र नवीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेर यसलाई प्रभावकारी बनाउने रणनीतिअनुसार बैठक बोलाइएको हो ।
कांग्रेसको देशभर १० लाख क्रियाशिल सदस्य रहेको अनुमान गरिए पनि चार लाख मात्र अद्यावधिक भएको छ ।