काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपाली बेसहारा नभएको बताएका छन् ।
नगरपालिका संघको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र संघीय सरकारसहित देशमा ७६१ सरकार रहेको बताए । यीनै ७६१ सरसकारले जनतालाई बेसहारा बन्न नदिने प्रधानमन्त्रीको दाबी छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोही–कसैले जनता बेसहरा भएको भनेर भनेको सुन्छु । मुलुकमा ७६१ वटा सरकार छ, कसरी जनता बेसहारा भए ? एउटा संघीय सरकार छ, ७ वटा प्रदेश सरकार छन् अनि ७५३ वटा स्थानीय सरकार नै छन् । अब कसरी भए जनता बेसहारा ? सबै जनताको रेखदेख सरकारले गर्छ ।’
प्रधानमन्त्री ओलीले अबको ४ दिनपछि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने पनि बताए । उनले भने, ‘अबको ४ दिनपछि हामी मेलम्चीको पानी काठमाडौँमा वितरण गर्छौँ । यसका लागि काम भइरहेको छ ।’
स्वास्थ्यका बारेमा आफूले भनेका कुराको आलोचना गर्नेलाई पनि प्रधानमन्त्रीले जवाफ दिएका छन् । उनले जनप्रतिनिधि र अभियन्ताका नाताले आफूले स्वास्थ्यका बारेमा बोल्ने गरेको बताए ।