सोलुखुम्बु- हिमाली जिल्ला सोलुखुम्बुमा रडपाण्डाको सात वटा छाला सहित तीन जनालाई पक्राउ गरिएको छ ।
मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्वर्ती क्षेत्र बफर जोनभित्र दुर्लभ बन्यजन्तु रेड पाण्डा शिकार गर्ने महाकुलुङ गाउँपालिकाका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक मन्दिप चौहानको टोलीले महाकुलुङ २ बस्ने ७६ बर्षिय जगतबहादुर राई, वडा नम्बर ३ बस्ने ५७ बर्षिय मितुरधन राई र ५६ बर्षिया कविर शंखर राईलाई उनीहरुका घरैबाट पक्राउ गरेको हो ।
अभियुक्तहरुको साथबाट रेड पाण्डाको सात थान छाला र रेड पाण्डा मार्न प्रयोग गरिने पाँच थान पासो बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कानुनी कारबाहीको लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज पठाइने प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।
रेडपाण्डाको चोरी शिकारी र तस्करीमा ठूलै गिरोह संलग्न रहेको तथा चीन र बर्मासम्म तस्करी हुने गरेको तथ्य फेला परेको पनि डिएसपि कटवालले बताए ।
अभियुक्तहरुलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार पाँच लाख रुपियाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ बर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने छ ।