काठमाडाैं- ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।
‘प्रदेश सरकारले उहाँलाई तत्काल नागरिकता दिएर उपचार गर्ने निर्णय गरेअनुसार नागरिकता दिइएको हो,’ खड्काले भने ।
नागरिकता लिनका लागि दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले सनाखत गरेका छन् । ‘ठूलो बुवाले नागरिकता लिइसक्नुभयो । हाम्रो नाता पनि प्रमाणित भइसक्यो,’ गोपालले भने ।
नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना नै लेखिएको छ । पश्चिम बंगालका जेल र कलकत्तास्थित उच्च अदालतका कागजातमा उनको नाम दीपक जैसी छ ।
‘अब दीपक जैसी र दुर्गाप्रसाद तिम्सिना भन्ने व्यक्ति एउटै हो भन्ने पनि सिफारिस सिडिओ कार्यालयबाट बनाउँछौं,’ गोपालले भने ।
उनका अनुसार दुर्गाप्रसाद घरमा बसेपछि अचेल बोल्न थालेका छन् । ‘ठूलो बुवा पहिलाभन्दा कुरा गर्न थाल्नुभएको छ,’ उनले भने ।