चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सुरु-Sutra News

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सुरु

बिहिबार, १२ चैत्र २०७७

बिहिबार, १२ चैत्र २०७७

चितवन- चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ ।



एक वर्षदेखि काठमाडौंमा उपचार गराउँदै आउएकी भरतपुर महानगरपालिका-१० स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी लामालाई उनकी छोरी उषा तामाङले कलेजो दान गरेकी थिइन् ।

राजधानी बाहिर कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अनुमति लिई पहिलोपटक सफल प्रत्यारोपण गरिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक सर्जन डा.सञ्जय यादव, डा.एकानन्द सिंह, डा.प्रवीण जोशी, डा.जयन्तकुमार साह, डा.अभिषेक भट्टराई, एनेस्थेसियोलोजिष्ट डा.किरण अधिकारी, डा .सुरेश गौतम, डा.नवीन यादवलगायतको समूहले सफल प्रत्यारोपण गरेको बताइएको छ ।

विगत वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति र कलेजोसम्बन्धी विशेषज्ञका प्रयासबाट कलेजो प्रत्यारोपण गरेको उनको भनाइ छ ।

कलेजो प्रत्यारोपणका लागि चार सर्जन, तीन क्रिटिकल केयर, तीन एनेस्थेसियोलोजिष्ट र १० विशेषसहितको टोली अस्पतालमा छ ।

नेपालमा नै उपचार र शिक्षणमा अग्रणी मानिने कलेजका प्रबन्ध निर्देशक एवं अध्यक्ष प्रा.डा. हरिशचन्द्र न्यौपानेले सफल रुपमा कलेजो प्रत्यारोपण गर्नु कलेजको उपलब्धिका रुपमा लिइएको बताए ।

भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र र काठमाडौंको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुँदैआएको छ । यहाँ उपचारका लागि रु २५ लाख लाग्ने उनले जानकारी दिए ।

अहिले अस्पतालमा कलेजोको उपचारका लागि दैनिक १० देखि २० जना आउने गरेको र तीमध्ये २० प्रतिशत कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालले विसं २०७६ वैशाखमा कलेजो प्रत्यारोपणका लागि अनुमति लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट