काठमाडौं- होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ ।
सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले होलीपर्वको दिन भीडभाड गरेर होली नखेल्न सुचित गरिसकेको छ ।
‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ प्रवक्त बुढाले भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौं ।’
यसैबीच सरकारले भारतबाट नेपाल भित्रिनेहरुलाई पनि सीमानाकामा स्वास्थ्य जाँच गरेर मात्र प्रवेश दिन सुरु गरेको छ ।