काठमाडौं- गृहसचिव महेश्वर न्यौपानेले बिहीबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुबाट सशस्त्र प्रहरी बल, नेपालका देशभरका वाहिनीपति, तालिम शिक्षालयका समादेशक र गणपतिहरुलाई निर्देशन दिएका छन् ।
गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यममार्फत् बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनका समस्या र चुनौतीहरुका बारेमा जानकारी लिए ।
उनले नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमा सुरक्षामा तैनाथ गराइसकेको अवस्थामा सीमा तथा सीमावरपर हुने सबै खालका अपराधहरु कडाइका साथ नियन्त्रण तथा अपराधीहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउन एवम् अवैध चोरी पैठारी तथा निकासी नियन्त्रण गरी राजस्व संकलनमा उल्लेख्य वृद्धि गराउन सहयोगात्मक भूमिका निभाउन निर्देशन दिए ।
सशस्त्र प्रहरी बल, नेपालका युनिटपतिहरुलाई कार्यक्षेत्रमा निरन्तर क्रियाशील रहन निर्देशन दिनुका साथै बाहिनीपतिहरुले आफू मातहतकालाई उचित ढंगले परिचालन गरी नतिजामुखी कार्यसम्पादनमा जोड दिनुपर्ने बताउँदै सचिव न्यौपानेले सीमामा खटिएर काम गर्दा सशस्त्र प्रहरी कर्मचारीहरु इमान्दार व्यवसायिक र अनुशासित भई कार्य गरेको खण्डमा यसले कर्मचारीहरुको वृत्ति विकासमा समेत योगदान पुर्याउने बताए ।
गृहसचिव न्यौपानेले कोभिड–१९ महामारी नियन्त्रणमा सीमा नाका, आईसोलेसन सेन्टर तथा देश भरका विभिन्न ठाउँहरुमा खटिएर तथा नेपाल एपिएफ अस्पताल मार्फत सशस्त्र प्रहरी कर्मचारीहरु, चिकित्सक र स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदान सराहनीय रहेको उल्लेख गर्दै विपद् व्यवस्थापन तथा विपद् पीडित नागरिकहरुको उद्वारमा सशस्त्र प्रहरी कर्मचारीहरुले देखाएको तत्परता प्रशंसनीय रहेको बताए ।
गृहसचिव न्यौपानेले शान्ति सुरक्षा कायम गर्ने कार्यमा आइपर्नसक्ने जस्तोसुकै चुनौतीहरुलाई परास्त गर्दै अन्य निकायहरुसँग समेत आवश्यक समन्वय र सहकार्यका साथ कार्यसम्पादनमा जुट्न समेत निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापन गर्दै गृहसचिवबाट भएको निर्देशनलाई इमान्दार, अनुशासित, कर्तव्यनिष्ठ र व्यवसायिक भई पालना गर्न मातहत राष्ट्रसेवकहरुलाई निर्देशन निर्देशन दिए ।
सशस्त्र प्रहरी बल नेपाल, राज्य तथा संगठनले लिएको लक्ष्य प्राप्तितर्फ अहोरात्र कार्यक्षेत्रमा खटिई संगठनलाई प्राप्त सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा उद्वार लगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहेको बताउँदै नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल, नेपाल सरकार गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव घनश्याम भुसाल लगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृत तथा काठमाडौं स्थित सशस्त्र प्रहरी बल, नेपालका बाहिनीपति, गणपति र गुल्मपतिहरुको उपस्थिति रहेको थियो ।