काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राखिने भएको छ ।
नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति ८:२४ बजे निधन भएको हो । गत फागुन १३ गते मष्तिष्कघात भएका जोशीको उपचारका क्रममै निधन भएको हो ।
नेता जोशीको निधन भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
आज बिहान ११:३० बजे केन्द्रीय कार्यालय सानेपामा आकस्मिक बैठक बोलाएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।
यस्तै, नेता जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने भएको छ ।
शनिबार मध्याह्न १२ देखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने कांग्रेस महामन्त्री शर्माले बताए । नेता जोशीको आजै दाहसंस्कार गरिने भएको छ ।
नेता जोशीको निधनमा विभिन्न दलका नेताले एक निष्ठावान नेता गुमाएको जनाउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कांग्रेस सभापति शेबरहादुर देउवाले निष्ठावान नेता गुमाएको उल्लेख गर्दै कांग्रेस र देशलाई नै अपुरणीय क्षति भएको जनाएका छन् ।
कांग्रेस नेता गगन थापाले नेता जोशीको निधनमा मर्माहत भएको जनाएका छन् ।
उनले भनेका छन्, ‘अत्यन्त मर्माहत भएको छु । नवीन्द्र दाइ हामीमाझ हुनुहुन्न भनेर पत्याउन सकिरहेको छैन । पार्टी संगठनका, विचार अनि विकासका थुप्रै कुरा सिक्न र सँगै काम गर्न बाँकी थियो । हामीले एक समन्वयकारी, सालिन नेता र विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएका छौं । हार्दिक श्रद्धाञ्जली नवीन्द्र दाइ।’