काठमाडौं- पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा कांग्रेसले केन्द्र र जिल्लास्थित सबै कार्यालयमा पार्टीको झन्डा ३ दिनसम्म आधा झुकाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै शोकका कार्यक्रमहरु तय गरेको हो ।
जसअनुसार चैत १५, १६ र १७ मा तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइने भएको छ । ती दिन शोकका कार्यक्रमबाहेक पार्टीका अरू औपचारिक कार्यक्रम नगर्ने निर्णय समेत भएको छ ।
आगामी चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरू बन्द गर्ने, १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने कार्यक्रम पनि तय भएको छ ।
यसअघि कांग्रेसले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
गत फागुन १४ मा मष्तिष्कघात भएपछि उपचाररत जोशीको शुक्रबार बेलुका नर्भिक अस्पतालमा निधन भएको हो ।
जोशीको पार्थिव शरीर आजै कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतले जोशीको पार्थिव शरीरमा पार्टीको झन्डा पहिराएर श्रद्धाञ्जली दिएका थिए ।
सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, एमाले नेताहरु सुवास नेमवाङ, अष्टलक्ष्मी शाक्यलगायत पनि जोशीलाई श्रद्धाञ्जली दिन सानेपा पुगेका थिए ।
जोशी नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्वउपप्रमुख, संविधानसभा सदस्य, पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यसमेत थिए ।