सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ, धेरै दिन कुर्न सक्दिनँ: प्रचण्ड-Sutra News

सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ, धेरै दिन कुर्न सक्दिनँ: प्रचण्ड

शनिबार, १४ चैत्र २०७७

शनिबार, १४ चैत्र २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिने बताएका छन् ।



आज नागरिक समाजले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै प्रचण्डले केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

समर्थन फिर्ता नलिन धेरै दबाब आएको भन्दै उनले अब आफूले राजनीतिक र नैतिक रुपमा धेरै दिन कुर्न नसक्ने बताए ।

उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाब छ । नलिनू है भनिरहेका छन् । समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका छन् । अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ ।’

राजनीतिक दलहरूबीच सहमति गरी अघि बढ्ने योजना रहेको पनि उनले बताएका छन् । दलहरुबीचको सहमतिपछि समर्थन फिर्ता गर्ने वा सँगै अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न केही समय लागेको उनले बताए ।

अहिले प्रधानमन्त्रीको खेल प्राप्त उपलब्धि उल्ट्याउने गरी भइरहेको पनि प्रचण्डले आरोप लगाए ।

उनले भने, ‘विगतमा जे परिर्वतन भए त्यसलाई उल्टाउन यो नियोजित रुपमा आएको हो भन्ने मलाई लागेको छ । हामी सबै आनदोलनमा आएको हो । सेटिङ भएको छ भनेर प्रधानमन्त्रीका मानिसले भन्दै आएका थिए । जनताले अगाडि आएपछि भत्कन्छ भनेर मैले भनेको थिए । हामी जनता एक भएर अघि बढ्यो त्यो सेटिङ भत्क्यो । यही कारण पुनर्स्थापना भयो ।’

प्रतिनिधिसभा पुनर्स्थापना पछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने आफूहरूलाई लागे पनि त्यसो हुन नकसेको उनको भनाइ छ ।

प्रचण्डले भने, ‘पुनर्थापना भएपछि पधानमन्त्रीले राजीनामा दिनु हुने सोचेका थियौँ । हामी सजिलै यो ब्याटल जितेको भनी रिल्याक्स गरेका थियौं । दोस्रो योजना हामीले नबाएकै हो। यो सबै परिर्वतन उल्टाउने षड्यन्त्र भएको छ । हामीले जे सोचेका थियौ त्यो भएन ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट