निम्छरा माधव नेपालः प्रचण्डसँग डिभोर्स भयो, पिरती टुंगिएन-Sutra News

निम्छरा माधव नेपालः प्रचण्डसँग डिभोर्स भयो, पिरती टुंगिएन

आइतबार, १५ चैत्र २०७७

आइतबार, १५ चैत्र २०७७

काठमाडौं- एमाले र माओवादी अलग कित्तामा भए पनि माधवकुमार नेपालले पुष्पकमल दाहाल (प्रचण्ड) सँगको संगतिलाई कायम राखेका छन् ।



आफू पक्षीय केन्द्रीय कमिटीको बैठक छाडेरै भए पनि शनिबार उनी नागरिक आन्दोलनले गरेको कार्यक्रममा उपस्थित भए । कारण थियो- प्रचण्ड पनि छन् ।

त्यसअघि शुक्रबार पनि प्रचण्डसँग उनको भेटवार्ता भएको थियो । त्यसका केही दिनअघिसम्म निरन्तर भेटघाटका क्रम चलेका थिए । व्यावसायी टपेन्द्र तिम्सिनाको घरमा पनि प्रचण्डसँग राजनीतिक मायापिरतीका कुराकानी उनले गरेका थिए ।

पार्टी विभाजन भएपछि एमालेभित्र निम्छरा बनेका नेपाल प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग कुनै पनि हालतमा एउटै मञ्चमा बस्न रुचाउँदैनन्। संसदीय दलको बैठकमा सहभागी हुन उनी बालुवाटार पनि गएनन् । उनले भनेका छन्, ‘मैले उल्टै स्पष्टिकरण सोधेको छु, बालुवाटारमा हुने कुनै कार्यक्रममा जान्न भनेको थिएँ, गइन ।’

madhav nepal news.jpg

नेपालको एउटा गुनासो पनि थियो । ‘फ्लोर क्रस’ गर्ने विषयमा अप्ठेरोमा परेको । उनी प्रचण्डले ओलीविरुद्ध ल्याउने अविश्वासको प्रस्तावमा सहमत हुन तयार छन् तर फ्लोर क्रस गर्न सक्तैनन् । नेकपामा रहेका बेला प्रचण्डसँगको मिलेमतोमा ओलीविरुद्ध बम्बार्ड द हेडक्वार्टर भनि प्रचारमा रहेको १९ बुँदे प्रस्तावमा नेपालको अग्रसरता रहेको थियो ।

त्यसबेलादेखि प्रचण्ड-नेपाल सम्बन्ध गहिरो राजनीतिक प्रेम थियो । तर, जब अदालतले पार्टी विभाजन गरिदियो, उनीहरूबीच पिरती भए पनि डिभोर्स भयो । ‘अझै पनि बल गरेर प्रचण्डसँग मिल्ने र अघि बढ्ने विषयमा कुराकानी गरेका छन् । तर उनको राजनीतिक जीवनमा ओलीले ठूलो तुवाँलो लगाइदिए’, एक नेता भन्छन्,‘यस्तो तुँवालो जस्तो राजनीतिमा त नेपाल निम्छरा देखिए ।’

prachanda - madhav nepal.jpg

नेपाल आफैं पनि राजनीतिक सरल रेखामा नहुने मान्छन् । प्रतिनिधि सभा विघटनपछि सरल रेखामा नै ओलीको बिरोधमा उत्रिएका उनले पुनःस्थापनापछि लड्डु खुवाउने र खाने काम गरे । तर जब सर्वोच्चले नेकपाबारे फैसला सुनायो नेपालका लागि राजनीतिको बक्ररेखाको प्रभाव मात्र परेन, राजनीतिक जीवनमा नै ठूलो घन बज्रियो ।

‘उनीहरूले मेरो राजनीतिक जीवन सिध्याउन खोजेका थिए । मलाई साधारण सदस्य समेतबाट निकालेर, आरोप लगाएर सिध्याउन खोजेका थिए । तर अदालतले जोगाइदियो’, नेपाललगायतका हर्कतबारे प्रधानमन्त्री ओलीले भनेका थिए,‘अब पार्टी विरोधी काम गर्नेलाई कारबाहीको प्रक्रिया बढ्नेछ ।’

महासचिव ईश्वर पोखरेलले संगठनका तर्फबाट सोधेको स्पष्टिकरण सोधेपछि नेपालले उत्तर त पठाए तर त्यो कारबाहीयोग्य रहेको ओलीको भनाई बाहिरिएको छ । नेपालसहित उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरणका क्रममा १९ बुँदेमा उठाइएका ओलीविरुद्धका प्रश्न, सभा भेला, समानान्तर कमिटी गठनका विषयमा स्पष्टिकरण सोधिएको थियो ।

एमालेमा सक्रिय हुनका लागि नेपाललाई आत्मालोचनाको ठाउँ रहेको भनिए पनि उनी ओलीसँगको सहमति भन्दा प्रचण्डसँगको सहकार्यका लागि बढी आतुर देखिन्छन् ।

उनले भनेका छन्,‘हामीले लोकतन्त्रलाई जोगाउनका लागि निक्कै काम गरेका थियौं । विरोध गरेका थियौं । तर अदालतले हामीलाई छुटाइदियो ।’ नेपालले त अदालतको पार्टी अलग गराउने निर्णयलाई बिहेपछि बच्चा भइसक्दा पनि बिहे नै भएको छैन भन्ने बाध्यात्मक आदेश भएको व्याख्या गरेका छन् ।

यो पनि हेर्नुस

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट