काठमाडौं- झण्डै चार महिनादेखि आफ्नै पार्टीका सांसदहरूका अविश्वास प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेका बेला बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा संसदीय दलको बैठक बोलाएका छन् ।
मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता पौडेलले चैत १८ गते संसदीय दलको बैठक बोलाएका हुन् । सो बैठकले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन अष्टलक्ष्मी शाक्य पक्षलाई औपचारिक रूपमा निर्देशन दिने बताइएको छ ।
तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षधर सांसदहरूले शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पौडेलमाथि अविश्वासको प्रस्ताव पेश गरेका थिए ।
सो प्रस्तावमाथि आजसम्म बैठकमा छलफल हुन सकेको छैन । सर्वोच्चले फागुन २३ मा गरेको फैसलाले नेकपा एमाले पुनःस्थापित गरेकाले भइसकेको अवस्थामा अविश्वास प्रस्ताव फिर्ता लिनेबारे माधव नेपाल पक्षले छलफल गरिरहेको छ ।
यसअघि प्रचण्ड–माधव पक्षले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई बनाउने बताएको थियो ।
यसैले संसदीय दलको बैठकमा माधव नेपाल पक्ष सहभागी हुने या नहुने निश्चित भइसकेको छैन । बागमती प्रदेशको १ सय १० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको एकल बहुमत छ ।
संसदीय दलको बैठकले प्रदेश सरकारमा नयाँ मन्त्रीहरू नियुक्त गर्नसक्नेछ ।